एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि

गण्डकी, २० पुस – प्रगतिशील लेखक सङ्घ (प्रलेस) गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा प्रस्तुत गरेको छ। पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीकी गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी र पर्वतका राजकुमार निरञ्जनले कविता वाचन गर्नुभयो।

कविहरूले विभिन्न सामाजिक विषय र समसामयिक मुद्दामाथि प्रगतिशील धारका कविता प्रस्तुत गर्नुभयो। गोष्ठीमा वाचित कविताले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य सबल रहेको सन्देश दिएको साहित्यकार नारायण मरासिनीले बताउनुभयो। उहाँका अनुसार कविताले नेपाली समाजको प्रतिनिधित्व गर्नुका साथै वर्तमान परिवर्तनप्रतिको आकाङ्क्षालाई पनि मुखरित गरेको छ।

प्रलेस गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुने खालको हुनुपर्नेमा जोड दिनुभयो। प्रगतिशील कविताले यथास्थितिविरुद्ध बुलन्द आवाज उठाउनुपर्ने उल्लेख गर्दै उहाँले गण्डकी प्रदेशका नवपुस्ताका कविहरूको प्रस्तुति आशालाग्दो देखिएको बताउनुभयो।

प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्तः सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। आफूले के, किन र कसका लागि लेख्दैछु भन्नेमा सचेत भएर लेखनमा लाग्नुपर्ने उहाँको भनाइ छ।

गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका कविका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको बताउनुभयो। प्रगतिशील कविताको जगेर्ना र उत्थानमा टेवा पुर्‍याउने उद्देश्यले प्रदेशस्तरीय कवि गोष्ठी आयोजना गरिएको प्रलेस गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायले जानकारी दिनुभयो।

Facebook Comments Box