मकवानपुरमा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ, १७ असोज – मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। बुधबार बिहान बकैया गाउँपालिका ५ सिरपुर ओरालोमा दूध बोक्ने ना १ घ ५४४ नम्बरको गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

उक्त दुर्घटनामा हेटौंडा उपमहानगरपालिका ९ लामसुरे निवासी चालक सिद्धान्त लामाको मृत्यु भएको हो। दुर्घटनामा लामसुरे निवासी सह-चालक प्रेम अधिकारी घाइते भएका छन्। उनको अहिले उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिन हेटौंडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर पल्टिएको हो।

Facebook Comments Box