प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी प्रसारण लाइन निर्माण गर्ने
काठमाडौँ, २० पुस – नेपाल विद्युत् प्राधिकरणले बुटवल–लमही ४०० केभी क्षमताको नयाँ विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ। कुल १६१ किलोमिटर लामो उक्त प्रसारण लाइन पूर्वी नेपालमा उत्पादित विद्युत् पश्चिमतर्फ प्रवाह गर्न तथा गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि निर्माण गर्न लागिएको हो।
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा आयोजना कार्यान्वयन गरिने प्राधिकरणले जनाएको छ। प्रसारण लाइनको प्रभावित क्षेत्रमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालाबाट आवश्यक राय, सुझाव र सल्लाह माग गरिएको छ।
४०० केभी क्षमताको सो प्रसारण लाइनका लागि ४६ मिटर क्षेत्राधिकार तोकिएको छ, जसअनुसार लाइनको केन्द्रबाट दायाँ–बायाँ २३–२३ मिटर क्षेत्र रहनेछ। यस प्रसारण लाइनमा कुल ४०५ वटा टावर निर्माण गरिने छन्। यस्तै, दाङको लमही नगरपालिका–९ स्थित रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेशन निर्माण गरिने प्राधिकरणले जनाएको छ।
वातावरणीय अध्ययनका क्रममा आयोजना कार्यान्वयनले त्यस क्षेत्रको प्राकृतिक तथा भौतिक प्रणाली, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा पार्ने प्रभावको पहिचान गरिने सूचनामा उल्लेख छ। आयोजनाबाट पर्न सक्ने प्रभावबारे आवश्यक जानकारी, राय, सुझाव र सल्लाह प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्ग तथा परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड, ललितपुरमा उपलब्ध गराउन आग्रह गरिएको छ।

