क्यानको वार्षिक खेल तालिका सार्वजनिक

काठमाडौँ, १९ पुस – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले आगामी वर्ष सञ्चालन हुने घरेलु तथा अन्तरराष्ट्रिय प्रतियोगिता समावेश गरिएको वार्षिक क्यालेन्डर सार्वजनिक गर्नुभएको हो ।

क्यालेन्डरअनुसार राष्ट्रिय प्रतियोगिताको सुरुआत जनवरीमा पुरुष प्रधानमन्त्री कपबाट हुनेछ । यसअन्तर्गत जनवरी ५ देखि २५ गतेसम्म जिल्ला चरण र जनवरी २५ देखि फेब्रुअरी १० गतेसम्म प्रदेश चरणका खेल आयोजना गरिनेछन् ।

फेब्रुअरी महिनामा पुरुष प्रधानमन्त्री कपको प्रदेश चरण निरन्तरता पाउनेछ । यसै महिनामा फेब्रुअरी १२ देखि २२ गतेसम्म जय ट्रफी प्रतियोगिता आयोजना हुनेछ भने राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि सञ्चालन गरिनेछ ।

मार्चमा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय चरण मार्च २८ देखि अप्रिल २२ गतेसम्म आयोजना गरिने क्यालेन्डरमा उल्लेख छ । यसै अवधिमा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश चरण र महिला प्रधानमन्त्री कपको जिल्ला चरण पनि सञ्चालन हुनेछ ।

अप्रिल महिनामा महिला प्रधानमन्त्री कपको प्रदेश चरण, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश चरण तथा अन्य क्यान कार्यक्रमहरू आयोजना गरिनेछन् ।

मे महिनामा महिला प्रधानमन्त्री कपको राष्ट्रिय चरण मे २ देखि २० गतेसम्म सञ्चालन हुनेछ । यसै महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय चरण, यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र क्यान युथ क्याम्प आयोजना हुनेछन् ।

जुन महिनामा सातै प्रदेशमा क्यान लेभल–१ कोचिङ कोर्स सञ्चालन गरिनेछ भने जुन १५ देखि २५ गतेसम्म राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना हुनेछ ।

जुलाईमा क्यान लेभल–२ कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन हुनेछन् । अगस्टमा क्यान लेभल–१ अम्पायरिङ कोर्स आयोजना गरिनेछ । सेप्टेम्बरदेखि अक्टोबरसम्म महिला लङ्गर फर्म्याट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरिने क्यालेन्डरमा समावेश गरिएको छ । अक्टोबरमै यु–१६ केटा तथा केटीको राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप, अन्तरविद्यालय तथा कलेजस्तरीय लङ्गर फर्म्याट प्रतियोगिता र विभिन्न क्षेत्रीय टुर्नामेन्टहरू आयोजना हुनेछन् । डिसेम्बर महिनामा पनि क्षेत्रीय टुर्नामेन्टहरू सञ्चालन हुनेछन् ।

अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत जनवरीमा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुनेछ । फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी–२० विश्वकप खेल्नेछ ।

मार्चमा पुरुष टोलीले आइसिसी लिग–२ शृङ्खला खेल्नेछ भने महिला टोलीले बाइल्याटरल शृङ्खला खेल्ने क्यानले जनाएको छ । यु–१९ टोलीले भुटान भ्रमण गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

अप्रिलमा नेपाल ‘ए’ टोलीको शृङ्खला हुनेछ । यसैगरी महिला टोली तथा यु–१९ महिला टोलीको शृङ्खलासमेत आयोजना गरिनेछ । जुलाईमा पुरुष टोलीको आइसिसी लिग–२ शृङ्खला हुनेछ । यसै महिना महिला एसिया कप तथा यु–१६ इस्ट जोन कप आयोजना हुनेछन् ।

अगस्टमा पुरुष टोलीले एसीसी प्रिमियर कप खेल्नेछ भने कुवेतसँग टी–२० अन्तरराष्ट्रिय शृङ्खला पनि खेल्ने कार्यक्रम छ । नेपालले यस वर्ष पनि टप एन्ड सिरिजमा सहभागिता जनाउने उल्लेख छ ।

सेप्टेम्बरमा पुरुष टोलीको बाइल्याटरल शृङ्खला तथा महिला टोलीको युएईसँग शृङ्खला आयोजना हुनेछ । अक्टोबरमा पुरुष टोलीको लिग–२ शृङ्खला र महिला टोलीको त्रिदेशीय शृङ्खला आयोजना हुनेछ ।

नोभेम्बरमा नेपाल प्रिमियर लिग सञ्चालन हुनेछ भने डिसेम्बरमा महिला तथा पुरुष दुवै टोलीका अन्तरराष्ट्रिय शृङ्खला आयोजना हुने क्यानले जनाएको छ ।

Facebook Comments Box