कांग्रेस नेता डा. कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्थाबारे छलफल

काठमाडौँ, १९ पुस – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाबारे काठमाडौँमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायत नेताहरूसँग अन्तरक्रिया गरी राय लिनुभएको छ ।

विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा आज आयोजित छलफलमा वर्तमान राजनीतिक विषमता, त्यसको समुचित निकास, मुलुकमा देखिएको सङ्कटको समाधान तथा पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्व कसरी व्यवस्थापन र अवतरण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको डा. कोइरालाको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा शुक्रबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णय तथा महामन्त्रीहरूले अघि सारेको विशेष महाधिवेशनको प्रस्तावलाई कसरी समन्वयात्मक ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा समेत विचार विमर्श भएको थियो ।

त्यसैगरी आगामी आमनिर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा कसरी अगाडि लैजान सकिन्छ भन्ने रणनीति, हालै पार्टीको अनुशासन समितिबाट भएका कारबाही फुकुवालगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।

Facebook Comments Box