बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालकसहित सात यात्रु सामान्य घाइते, छ जना उपचारपछि डिस्चार्ज

झापा, १९ पुस – भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा सहचालकसहित सात जना यात्रु सामान्य घाइते भएका छन्। घाइतेमध्ये छ जनालाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी तथा माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिनुभयो।

उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमान इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय सहचालक सुशान्त श्रेष्ठ र अन्य छ जना यात्रु घाइते भएका हुन्।

घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, बिर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, बिर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी र सोही स्थानकी १६ वर्षीया प्रिया घतानी रहेका छन्।

घाइते सबैलाई तत्काल नेपाल प्रहरीको उद्धार टोलीले भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा पुर्‍याएको थियो। टाउको र अनुहारमा चोट लागेका सहचालक सुशान्त श्रेष्ठको उपचार अस्पतालमै भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भई घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिनुभयो।

जहाज शुक्रबार राति ८ः२३ बजे काठमाडौँबाट उडेको थियो र ९ः१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको थियो। प्रहरीले सबै यात्रुलाई जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पताल पुर्‍याएको जनाएको छ।

Facebook Comments Box