केपी शर्मा ओलीले प्रचण्डसँग राष्ट्रपतिमा माधव कुमार नेपालको नाम प्रस्ताव

काठमाडौं, १० फागुन – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको नाम प्रस्ताव गरेका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटवार्ताका क्रममा ओलीले नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन्।

बैठकमा माधव नेपालका अलावा एमालेका उपाध्यक्ष सुवाश नेम्वाङको नामबारे पनि चर्चा भएको ओली निकट एक नेताले जानकारी दिए। एकीकृत समाजवादीले पनि राष्ट्रिय सहमति भए वा जित्ने अवस्था भएमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालमध्ये एक जनालाई राष्ट्रपतिमा अघि सार्ने रणनीति लिएको छ।

एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपतिको उम्मेदवार तय गर्न बुधबार विहान बालुवाटारमा एक्लाएक्लै वार्ता भएको थियो। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने आफूहरुलाई राष्ट्रपतिका लागि कहीँ कतैबाट प्रस्ताव नआएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपतिको प्रस्ताव आएकोबारे अहिलेसम्म हामी जानकारी छैन । राष्ट्रपतिको प्रस्ताव आएको कुरा हल्ला मात्रै रहेछ। अध्यक्ष (माधवकुमार नेपाल) ले त्यसबारेमा केही पनि ब्रिफिङ गर्नु भएन।’

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन्। फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।

यता, नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाउने र माओवादीको सहयोगमा जिताउने रणनीति लिएको छ। कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ।

केहीदिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सघाउन आग्रह गरेपछि एमाले अध्यक्ष ओली झस्किएका छन्। त्यो सफल हुन नदिन एमालेले माधव नेपाललाई अघि सार्न खोजेको नेताहरुको बुझाइ छ।

राष्ट्रपति चुनावका लागि माओवादी केन्द्र निर्णायक छ। उसले जुन दललाई सहमर्थन गर्छ सोही दलको उम्मेदवार राष्ट्रपतिमा जित्ने निश्चितजस्तै छ।

Facebook Comments Box