स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणमा कामपा
काठमाडौँ, १८ पुस – काठमाडौँ महानगरपालिकाले स्थानीय तथा परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्ने जनाएको छ। ताजा तरकारी, अन्न तथा फलफूलको उपलब्धता बढाउने उद्देश्यसहित महानगरले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुशासन समितिका संयोजक तथा वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिनुभयो।
उपभोक्तालाई स्थानीय उत्पादनको पहिचान गराउने र बजारसम्म पहुँच पुर्याउने लक्ष्यसहित महानगरले रैथाने उत्पादनको बजारीकरणमा जोड दिएको उहाँको भनाइ छ। “उत्पादन भएका वस्तुको पहिचान र गुणस्तर सुनिश्चित गर्नु नै बजारीकरणको मुख्य आधार हो,” उहाँले भन्नुभयो, “महानगरका अन्य वडामा पनि स्थानीय सामग्रीको बजारीकरण विस्तार गर्ने योजना छ।”
स्थानीय उत्पादनको पहिचान र प्रवर्द्धनका लागि महानगरले ‘एक वडा, एक नमूना कार्यक्रम’लाई थप प्रभावकारी बनाउँदै लगेको छ। यस कार्यक्रमअन्तर्गत चालु वर्ष वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ मा सीप विकास तालिम सम्पन्न भई विभिन्न सामग्री उत्पादन भइरहेको छ।
महानगरका ३२ वडामध्ये गत वर्ष १५ वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ सुरु गरिएको थियो। यस वर्ष थप आठ वडामा कार्यक्रम विस्तार भएसँगै हाल २३ वडामा कार्यक्रम सञ्चालनमा रहेको छ। बाँकी वडामा पनि क्रमशः कार्यक्रम लागू गर्ने तयारी रहेको महानगरले जनाएको छ।
कार्यक्रमअन्तर्गत विभिन्न वडामा ऊनका सामग्री, हाकुपटासी, मरीचरी (मिठाइजन्य परिकार), नेवारी वेशभूषा, धागो तथा सुर्के थैली, ढाकाका कपडा, माटोका मखुण्डो, बेबिसेट तथा गाउन, यमरी, फ्रोजन मःम र छालाका जुत्ता उत्पादन भइरहेको छ। प्रत्येक वडामा उत्पादन गरिएका सामग्रीको बजारीकरणका लागि वडास्तरीय कोसेलीघरसमेत स्थापना गरिएको कामपाले जनाएको छ।

