डा भुसाल र विष्टको जीवन रक्षा गर्न आयोगको आग्रह

काठमाडौँ, १७ पुस – राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनरत डा निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै उनीहरूको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भ्रष्टाचारको छानबिन तथा कारबाहीको माग राखी विगत १० दिनदेखि काठमाडौँको माइतिघरमा अनशनरत डा भुसाल र विष्टको जीवन रक्षा गर्न तत्काल पहल गर्न ध्यानाकर्षण गराइएको उल्लेख छ।

विज्ञप्तिमा प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्दै वार्तामार्फत अनशनरत व्यक्तिहरूका मागमा निष्कर्षमा पुग्न र उनीहरूको जीवन रक्षा गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ।

आयोगले यस विषयमा निरन्तर अनुगमन गरिरहेको जनाएको छ। पछिल्लो अनुगमनका क्रममा डा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर देखिएको, डा भुसालको रक्तचाप अत्यन्तै कम भएको र रगतमा चिनीको मात्रा पनि घटेको पाइएको आयोगले जनाएको छ।

Facebook Comments Box