राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ, १७ पुस – आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईँले बुधबार कार्यालयको उद्घाटन गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी निर्वाचन कार्यक्रमबारे जानकारी गराउनुभयो ।

निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालका अनुसार निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगको कार्यालय विराटनगरमै सञ्चालनमा रहनेछ । निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार पुस १९ गते बिहान १०ः०० देखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ ।

सो नामावलीमाथि दाबी–विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ः०० देखि ४ः०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । यस्तै, पुस २३ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । पुस २४ गते बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ ।

पुस २७ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो १ः०० देखि २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसैगरी, पुस २८ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । कोशी प्रदेशमा महिलातर्फ एक, दलिततर्फ एक र अन्यतर्फ एक गरी तीन जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको छ ।

Facebook Comments Box