जोगमाई खोलामा डाइभर्सन निर्माण

इलाम, २९ असोज – मेची राजमार्गको विकल्पका रूपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ। माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण सम्पन्न भएपछि यातायात सञ्चालन हुने तयारी गरिएको हो।

सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार, जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिछ्याउने काम सकिएको छ र अहिले बाटो निर्माण अन्तिम चरणमा पुगेको छ। “बुधबारदेखि साना सवारी साधन सञ्चालन गर्ने तयारीमा छौँ,” उहाँले बताउनुभयो। डाइभर्सन बनाउन आठवटा ह्युमपाइप र तीन टुक्रा टेलरेस्ट प्रयोग गरिएको छ भने कामका लागि चारवटा एक्साभेटर परिचालन गरिएको थियो।

इलाम नगरपालिका–९ राजदुवाली सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा यो सडक सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो। असोज १८ गतेको बाढीले जोगमाई खोलाको बेलिब्रिज बगाएपछि डाइभर्सन निर्माण गरिएको हो।

११ दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र यातायात व्यवसायीले ठूलो कठिनाइ भोग्नुपरेको थियो। तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल हुँदै साना सवारी साधन आइतबारदेखि सञ्चालनमा आएका छन्। तर ठूला र मालवाहक सवारीका लागि अझै उपयुक्त वैकल्पिक मार्ग नखुलेको प्रजिअ नेपालले बताउनुभयो। तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन कठिन भएको उहाँको भनाइ छ।

इलाम–राजदुवाली सडक अवरुद्ध भएकाले हाल इलाम जिल्ला झापा, पाँचथर र ताप्लेजुङसँग सडक सञ्जालबाट विच्छेद भएको छ। जटिल भू–संरचनाका कारण राजदुवाली सडक तत्कालन खुलाउन नसकिने सडक डिभिजन प्रमुख भट्टराईले जानकारी दिनुभयो।

Facebook Comments Box