सन्तान प्राप्तिको कामनासहित आज पुत्रदा एकादशी व्रत
काठमाडौँ, १५ पुस – आज पौष शुक्ल एकादशीका अवसरमा पुत्रदा एकादशीको व्रत गरिँदैछ। विधिपूर्वक यो व्रत गर्नाले सन्तान प्राप्ति हुने उल्लेख विभिन्न पौराणिक तथा शास्त्रीय ग्रन्थमा गरिएको छ। पुत्रदा एकादशीको माहात्म्य युधिष्ठिरको जिज्ञासामा भगवान् श्रीकृष्णले वर्णन गर्नुभएको कथन शास्त्रमा पाइन्छ। यस व्रतले सम्पूर्ण पाप नाश हुने र सन्तान–सुख प्राप्त हुने विश्वास गरिन्छ। यस दिनका अधिदेवता भगवान् लक्ष्मीनारायण मानिन्छन्।
पण्डित बालमुकुन्द देवकोटाका अनुसार पुत्रदा एकादशीका दिन तिल र तुलसी अर्पण गरी भगवान्को पूजा–अर्चना गर्नुपर्ने शास्त्रीय विधान छ। कुन्दको फल, पक्वान्न तथा दारिम अर्पण गरी ब्राह्मणलाई घ्यू दान गर्नु पुण्यदायी मानिन्छ।पौराणिक कथाअनुसार, भावतीपुरीका राजा सुकेतुमान र महारानी चम्पा लामो समयसम्म सन्तान नहुँदा चिन्तित थिए।
एकदिन वन भ्रमणका क्रममा ऋषिमुनिको आश्रम पुगेका राजालाई पुत्रदा एकादशीको व्रत गराइएको थियो। मुनिको निर्देशनअनुसार व्रत र द्वादशीका दिन पारायण गरेपछि उनीहरूले तेजस्वी पुत्र प्राप्त गरेका थिए। शास्त्रअनुसार पुत्रदा एकादशीको माहात्म्य पढ्न वा सुन्नाले पनि अग्निष्टोम वा अश्वमेध यज्ञ गरेसरह फल प्राप्त हुने विश्वास छ।
सन्तान प्राप्तिको कामनासहित ‘क्लीं देवकीसुत गोविन्द…’ मन्त्रको दैनिक जप र गोपाल स्तोत्र पाठ गर्नाले निःसन्तानले सन्तान–सुख पाउने विश्वास रहँदै आएको पण्डित देवकोटाले बताउनुभयो।

