आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै
काठमाडौँ, १५ पुस – गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा तमु ल्होसार पर्व मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ। तमु ल्होसार सूर्यको गतिसँग सम्बन्धित पर्व हो।
गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले पर्ने भएकाले पुस महिनामा यो पर्व मनाइने विश्वास छ। त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको क्षेत्रमा सूर्यको ताप ढिलो आउने भएकाले माघ र फागुनमा ल्होसार मनाइने परम्परा रहेको जानकारहरू बताउँछन्।
पुस १५ को रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्त्व रहेको छ। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। तमु ल्होसारका अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा सहभागीहरू परम्परागत वेषभूषामा सजिएर गुरुङ संस्कृति झल्काउने नृत्य, गीत तथा परिकारको प्रदर्शनीमा सहभागी भइरहेका छन्। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ।

