किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके, १५ पुस – नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयले यस वर्ष बाँकेका किसानसँग तोकिएको कोटाभन्दा बढी धान खरिद गरेको छ। कार्यालयले यस वर्ष १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम गरी कुल २० हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो।

तर सो कोटाभन्दा बढी खरिद गर्दै कार्यालयले १५ हजार २९४.५० क्विन्टल मोटा र ४ हजार ९९९.७० क्विन्टल मध्यम गरी कुल २० हजार २९४.२० क्विन्टल धान किसानबाट खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो।

उहाँका अनुसार मोटा धान खरिदमा रु पाँच करोड २९ लाख ७७ हजार २४२ र मध्यम धान खरिदमा रु एक करोड ८१ लाख ४० हजार ५६१ खर्च भएको छ। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल रु ३,४६३.८१ र मध्यम धान प्रतिक्विन्टल रु ३,६२८.३३ का दरले किसानसँग धान खरिद गरिएको उहाँले बताउनुभयो।

केन्द्रबाट सीमित बजेट र कोटा प्राप्त भएकाले सोहीअनुसार धान खरिद गरिएको उल्लेख गर्दै प्रमुख लामिछानेले यससँगै यस वर्षका लागि धान खरिद कार्य बन्द गरिएको जानकारी दिनुभयो। गत वर्ष भने नेपालगञ्ज कार्यालयले ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो।

Facebook Comments Box