आजको मौसम : दिउँसो र राति जाडो बढी तथा बिहान चिसो केही कम हुने सम्भावना

काठमाडौँ, २ मङ्सिर – केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नभएको नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव सुरु भएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली नेपालभन्दा निकै टाढा भएकाले आंशिक मात्र प्रभाव पर्नेछ। ‘यसले वर्षा गराउने सम्भावनाचाहिँ छैन’, मौसमविद् बासीले भनिन्, ‘तर उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात गराउने सम्भावना छ।’

उनका अनुसार यसले मौसम बदली अर्थात् आकाशमा बादल गराउने भएकाले दिउँसो घाम छेकिएर केही चिसो बढ्ने सम्भावना हुन्छ भने न्यूनतम तापक्रमचाहिँ घट्ने भएकाले बिहानको चिसो केही कम हुने सम्भावना रहन्छ। यस हिसाबले अबका केही दिन दिउँसो र राति जाडो बढी तथा बिहान चिसो केही कम हुने सम्भावना छ।

अहिले बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको मौसमििवद् बासीले जानकारी दिइन्। यो बिहान साढे ५ बजेको मापन हो।

Facebook Comments Box