‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’
काठमाडौँ, १३ पुस – नेपालबाट प्रकाशित हुने पात्रो (पञ्चाङ्ग) कुन सिद्धान्तका आधारमा तयार गर्ने भन्ने निर्णय नेपालका विद्वानहरूले मात्र गर्न नसकिनेमा जोड दिइएको छ। चाडपर्व र सांस्कृतिक अभ्यास अन्य देशसँग पनि गाँसिएको भएकाले पात्रोसम्बन्धी निर्णय अन्तरराष्ट्रिय स्तरमै छलफल गरेर गर्नुपर्ने सुझाव दिइएको हो।
विश्व ज्योतिष महासङ्घको राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ र राष्ट्रिय महिला ज्योतिष सङ्घको संयुक्त आयोजनामा शनिबार काठमाडौँमा सम्पन्न राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले यस्तो धारणा राख्नुभयो। उहाँका अनुसार नेपाल, भारतलगायत देशका ज्योतिषविद् सहभागी हुने सम्मेलनमार्फत संयुक्त निर्णयमा पुग्नुपर्छ।
संयुक्त निर्णय नगरिएमा चाडपर्व मनाउने मितिमा फरक पर्न सक्ने खतरा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले भारतका भक्तजन एक दिन अघि नै महाशिवरात्रि मनाउन पशुपतिनाथ आउने र नेपालमा अर्कै दिन पर्व मनाइने अवस्था आउन सक्ने बताउनुभयो। यस्तै अवस्था जनकपुरमा मनाइने विवाह पञ्चमीका अवसरमा पनि देखिन सक्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले २०८३ सालको पात्रो २०८२ सालकै ढाँचाअनुसार प्रकाशन गरिने जानकारी दिनुभयो। उहाँले २०८४ सालको पात्रो प्रकाशनअघि भने विस्तृत छलफल र परामर्श गरी निर्णय गरिने बताउनुभयो। त्यस अवसरमा विश्व ज्योतिष महासङ्घका केन्द्रीय अध्यक्ष लोकराज पौडेलले २०८४ सालको पात्रो आकाशमा ग्रहहरूको वास्तविक अवस्थालाई आधार मानेर तयार गरिनुपर्ने माग गर्नुभयो।
सम्मेलनमा समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पूर्वकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, विश्व ज्योतिष महासङ्घ नेपाल समितिका अध्यक्ष देवराज गौतमलगायत ज्योतिषीहरूले पात्रो सुधार आवश्यक रहेको र नेपालको ज्योतिष तथा धर्मशास्त्र क्षेत्रमा समयसापेक्ष सुधार गरिनुपर्नेमा जोड दिनुभयो।

