मनाङमा हिउँ चितुवा सर्वेक्षण जारी

ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र प्रमुख बासस्थान

मनाङ, १३ पुस – हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिने लोपोन्मुख हिउँ चितुवाको अवस्था, सङ्ख्या र बासस्थान पहिचानका लागि मनाङमा सर्वेक्षण जारी रहेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को संयुक्त पहलमा क्यामेरा ट्रयापिङ, पदचिह्न र मल (स्क्याट) सङ्कलनमार्फत अध्ययन भइरहेको हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका एकाइ प्रमुख ढकबहादुर भुजेलका अनुसार नारफू, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ र भीमथाङ आसपासका उच्च हिमाली भूभाग हिउँ चितुवाको सम्भावित प्रमुख बासस्थानका रूपमा पहिचान भएका छन्। “हिउँ चितुवा सुरक्षित हुनु भनेको उक्त क्षेत्रको सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली सन्तुलित अवस्थामा हुनु हो,” उहाँले बताउनुभयो।

समुद्री सतहबाट करिब ३,२०० मिटरदेखि ५,२०० मिटरभन्दा माथिसम्मका भूभागलाई ङिस्याङ, भीमथाङ र नारफू उपत्यकामा विभाजन गरी अध्ययन भइरहेको छ। अल्पाइन घाँसेमैदान, सुक्खा नदीक्षेत्र, रिजलाइन, वन प्याच र जनावरका बाटोलाई लक्षित गरी कुल १२९ क्यामेरा जडान गरिएको छ। तीमध्ये ङिस्याङ उपत्यकामा ५७, भीमथाङमा २९ र नारफूमा ४३ क्यामेरा जडान गरिएका छन्।

यसमा अन्तरराष्ट्रिय अनुसन्धानकर्तासँगको सहकार्यसमेत समावेश गरिएको एक्यापले जनाएको छ। सर्वेक्षणका क्रममा हिमाली ब्वाँसो, नीलो भेडा, कस्तुरी मृग, रातो स्याल, घोरल र चितुवा बिरालोलगायत विविध वन्यजन्तु प्रजाति पनि क्यामेरामा रेकर्ड भएका छन्, जसले क्षेत्रको स्वस्थ पारिस्थितिक अवस्था झल्काएको छ।

भुजेलका अनुसार प्रारम्भिक अध्ययनले मनाङ क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या ५० भन्दा बढी हुन सक्ने संकेत गरेको छ। अन्तिम तथ्याङ्क भने सर्वेक्षण सम्पन्न भएपछि सार्वजनिक गरिनेछ। सङ्कलित तथ्याङ्कले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सुधारिएको पशुपालन अभ्यास र सहअस्तित्वमा आधारित संरक्षण रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box