माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
मुस्ताङ, ८ पुस – माथिल्लो मुस्ताङमा हिउँदयामको समयमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झर्ने गर्छ । कडाकेको चिसोका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ । हिउँदयाम सुरु भएसँगै अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेका छन् भने केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखका लागि गाउँमै बसेका छन् ।
हिउँदयाममा नागरिक बेंसी झरेपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका धेरैजसो बस्ती सुनसान बनेका छन् । गाउँमै बसेका स्थानीयलाई चिसो थेग्न कठिन भइरहेको छ । विद्युत् र सञ्चार सेवा अनियमित हुनु, घरका धारा तथा सेफ्टी ट्याङ्की चिसोले जम्नुले दैनिकी झनै कष्टकर बनेको छ । चिसोका कारण स्वास्थ्यमा असर पर्न सक्ने जोखिम पनि बढेको छ ।
कडाकेको जाडो छल्न माथिल्लो मुस्ताङका स्थानीयले परम्परागत ऊर्जास्रोतका रूपमा गुइँठाको प्रयोग गर्दै आएका छन् । सुक्खा पठार रहेको यस क्षेत्रमा वनजङ्गल नहुँदा दाउराको अभाव छ । बर्खायाममा विद्युत् र ग्यास प्रयोग गरिए पनि हिउँदयाममा स्थानीयले पशुचौपायाको गोबरबाट तयार गरिएको गुइँठालाई इन्धनका रूपमा प्रयोग गरी जाडो कटाउने गर्छन् ।
लोमान्थाङ–३ ठिङ्गरका पासाङ गुरुङका अनुसार माथिल्लो मुस्ताङमा वर्षमा एक बाली मात्र खेती हुने भएकाले पशुचौपायाको गोबर प्रशस्त उपलब्ध हुन्छ । यही गोबरलाई घाममा सुकाएर गुइँठा बनाइ आगो ताप्ने, पानी तताउने र खाना पकाउने कार्यमा प्रयोग गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।
माथिल्लो मुस्ताङमा याकचौँरी तथा भेडाच्याङ्ग्रापालन व्यापक रूपमा गरिन्छ । यिनै पशुचौपायाको गोबरलाई घाममा राम्ररी सुकाएर गुइँठा बनाइन्छ । यो प्रचलन सदियौँदेखि निरन्तर रूपमा चल्दै आएको स्थानीयवासी बताउँछन् ।लोमान्थाङ–२ किम्लिङका ढिन्डुक गुरुङका अनुसार याकचौँरीको गोबर र भेडाच्याङ्ग्राको जुतो सुकाएर तयार गरिएको गुइँठा बोरामा भण्डारण गरी आवश्यकताअनुसार प्रयोग गरिन्छ ।
दाउराको तुलनामा गुइँठा राम्रोसँग बल्ने र लामो समय ताप दिने भएकाले जाडो महिनामा आगो ताप्न तथा खाना पकाउन सहज भएको उहाँले बताउनुभयो । खेतबारी र चरन क्षेत्रमा खेर जाने पशुचौपायाको आलो गोबर सङ्कलन गरी गुइँठा बनाइने गरिएको छ । गुइँठालाई ऊर्जाका रूपमा प्रयोग गर्न थालिएपछि दाउराको विकल्पका रूपमा यो भरपर्दो माध्यम बनेको छ । गुइँठाको प्रयोगले विद्युत् र ग्यासको खपत घटाई आर्थिक बचतमा समेत योगदान पुगेको स्थानीयको भनाइ छ ।

