एम्बाप्पेको दुई गोलमा फ्रान्सको शानदार जित, नकआउट चरणमा प्रवेश

काठमाडौं, असार ९ – फिफा विश्वकप–२०२६ अन्तर्गत फ्रान्सले इराकलाई ३–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा मंगलबार सम्पन्न खेलमा कप्तान किलियन एम्बाप्पेले दुई गोल गर्दै फ्रान्सको जितमा निर्णायक भूमिका निर्वाह गरे। फ्रान्सका लागि अर्को गोल उस्मान डेम्बेलेले गरे।

वर्षाका कारण करिब एक घण्टा अवरुद्ध भएको खेल पुनः सुरु भएपछि फ्रान्सले इराकमाथि पूर्ण दबाब कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। खेलको १४औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको खेलमा उनले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यसपछि ६६औँ मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे। विश्वकप प्रतियोगितामा डेम्बेलेको यो पहिलो गोल हो। इराकले खेलभर केही अवसर सिर्जना गरे पनि फ्रान्सको सुदृढ रक्षापंक्ति र गोलरक्षकलाई चुनौती दिन सकेन।

यसअघि पहिलो खेलमा इराक नर्वेसँग ४–१ गोलअन्तरले पराजित भएको थियो भने फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो। लगातार दोस्रो जितसँगै फ्रान्सले समूह चरणको एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान पक्का गरेको छ। फ्रान्ससँग ६ अंक पुगेको छ भने इराक लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।

Facebook Comments Box