पश्चिम तराईमा हुस्सु–कुहिरो, हवाई सेवा प्रभावित

काठमाडौँ, २ पुस – पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो चलेको छ, जसका कारण धनगढी, नेपालगञ्ज र भैरहवामा हवाई सेवा प्रभावित भएको छ। विशेषगरी भैरहवामा भिजिबिलिटी सबैभन्दा कमजोर छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ५:४५ बजे भैरहवामा भिजिबिलिटी केवल १०० मिटर थियो। धनगढी र जनकपुरमा ५०० मिटर, विराटनगरमा १,००० मिटर, नेपालगञ्जमा १,२०० मिटर र काठमाडौंमा ६,००० मिटरसम्म भिजिबिलिटी मापन गरिएको छ।

दिउँसोको समयमा हुस्सु–कुहिरो क्रमश: घट्दै जाने मौसमविद विनु महर्जनले बताइन्। मौसमविद्हरूका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु, कम भएमा कुहिरो भनिन्छ। हुस्सु–कुहिरोले घामका किरण रोक्ने र जमिन तत्न समय लाग्ने भएकाले जाडो महसुस हुन्छ। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ भने धनगढीको तापक्रम हिजोको तुलनामा ठ्याक्कै उस्तै छ।

सोमबारदेखि नै धनगढीमा हुस्सुले हवाई यात्रा प्रभावित बनाएको छ। हाल नेपालमा ठूलो मौसम प्रणालीको प्रभाव छैन, तर पश्चिम नेपालमा आज राति र भोलि हल्का बादल लाग्ने सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन्।

Facebook Comments Box