‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
काठमाडौँ, २ पुस – नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको र कानुनी, प्रशासनिक तथा संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कार्ययोजनाअन्तर्गतका दायित्व पूरा गर्ने प्रक्रियामा नेपाल रहेको जानकारी दिएको छ ।
कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धि (यूएनसीएसी) का पक्षराष्ट्रहरूको ११औँ सम्मेलनमा सहभागी हुँदै नेपालले उक्त धारणा व्यक्त गरेको हो । सम्मेलनलाई सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
उहाँले सुशासन प्रवर्द्धनका उद्देश्यसहित अन्तरिम सरकार गठन भएको स्मरण गराउँदै वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव कार्कीले संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धिप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै पदको दुरुपयोग, घुसखोरी, सम्पत्ति शुद्धीकरण तथा अवैध सम्पत्ति आर्जनलाई अपराधका रूपमा परिभाषित गरी नियन्त्रण गर्न सरकारले थालेका कानुनी तथा नीतिगत प्रयासबारे जानकारी दिनुभयो ।
उहाँले भ्रष्टाचारविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहकार्य, पारदर्शिता र जवाफदेहिता अत्यावश्यक रहेको उल्लेख गर्दै महासन्धिअन्तर्गतका प्रतिबद्धता कार्यान्वयनमा नेपाल सक्रिय रूपमा अघि बढिरहेको बताउनुभयो ।

