मनमोहन प्राविधिक विश्वविद्यालयमा सिभिल इञ्जिनियरिङको प्राविधिक स्नातक कार्यक्रम सञ्चालन हुने
विराटनगर, १ पुस – मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल इञ्जिनियरिङ विषयमा प्राविधिक स्नातक (बिटेक) कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कोशी प्रदेश सरकारले स्थापना गरेको उक्त विश्वविद्यालयले एसइई उत्तीर्ण गरी तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल इञ्जिनियरका लागि स्वीस सरकारसँगको साझेदारीमा बिटेक कार्यक्रम सञ्चालन गर्न लागेको हो।
नेपालमा सिभिल इञ्जिनियरिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारूप तह–६ अनुरूपको प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयले स्वीस सरकारसँग औपचारिक सम्झौता गरिसकेको छ।
विश्वविद्यालयको स्कुल अफ इञ्जिनियरिङ सङ्कायका डीन डा. रेखा श्रेष्ठ र स्वीस कन्ट्याक्टका देशीय निर्देशक सञ्जय कार्कीबीच बिटेक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापछि पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गर्ने तयारी भइरहेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिनुभयो।
उपकुलपति पोखरेलका अनुसार नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाअन्तर्गत विश्वविद्यालय र स्वीस कन्ट्याक्टबीच सहकार्य गरिएको हो।
सम्झौताअनुसार विश्वविद्यालयले तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेका जुनियर इञ्जिनियरका लागि दक्षतामा आधारित पाठ्यक्रम विकास गर्नेछ। पाठ्यक्रममा कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, पेसागत तथा उद्योग परिषद्हरूसँगको परामर्श, साथै नेपालको पूर्वाधार र निर्माण क्षेत्रको आवश्यकताअनुसारका दक्षता मापदण्ड समेटिनेछन्।
डीन डा. श्रेष्ठले यो कार्यक्रमले देशका युवालाई आवश्यक उच्चस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
स्वीस कन्ट्याक्टका देशीय निर्देशक कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालयसँगको सहकार्य नेपालको सीप विकास क्षेत्रमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीभिटी)मार्फत प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
तर एसइईपछि तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर इञ्जिनियरका लागि स्नातक तह अध्ययनको स्पष्ट व्यवस्था नहुँदा उनीहरू अन्योलमा पर्ने अवस्था रहेको छ। मनमोहन प्राविधिक विश्वविद्यालयले सञ्चालन गर्न लागेको बिटेक कार्यक्रमले उनीहरूको पेसागत उन्नतिमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।

