आज देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने साथै केहि स्थानमा भने भारी वर्षाको सम्भावना
काठमाडौं, २८ असार – अहिले देशका केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखकी मौसमविद् गंगा नरकोटीका अनुसार अहिले गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम, प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्ष भइरहेको छ।
‘काठमाडौं उपत्यकामा भने अहिले वर्षा रोकिएको छ’, उनले भनिन्, ‘दिउँसो पुनः वर्षाको सम्भावना छ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। यसैगरी राति देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाकाले देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, साथै प्रदेश १, गण्डकी , सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकाे छ।

