सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर, २९ मङ्सिर – भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तारसँगै पहिले स्थानीय बजारमै सीमित सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको छ ।

विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै निर्भर हुनुपरेको अवस्थामा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५, खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आउनुभएका उहाँले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

“अहिले सुन्तलाको मुख्य सिजन हो । गाउँभरि सुन्तला बिक्री भइरहेको छ,” राईले भन्नुभयो, “म प्रत्येक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्छु ।” यस क्षेत्रका करिब १२० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न सकिने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको किसानको भनाइ छ ।

सडक सञ्जाल विस्तारसँगै गाउँमा उत्पादन भएको सुन्तला धरान, इटहरी, विर्तामोड, विराटनगर, काठमाडौँलगायतका प्रमुख सहर र बजारमा पुग्ने गरेको छ । एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको छ ।

सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बन्दै गएपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ गाउँपालिका–५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाबाट सहयोग गर्दै आएको छ ।

“यहाँका किसानले सुन्तलाको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खेती प्रवर्द्धनका लागि वडाले आवश्यक सहयोग गरिरहेको छ,” वडाध्यक्ष राईले भन्नुभयो । कृषि पकेट कार्यक्रमअन्तर्गत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरेको थियो ।

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाका खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाका दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका तथा रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत वर्ष जिल्लामा छ हजार २९३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । हाल चालु वर्षको उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलनको काम भइरहेको केन्द्रले जनाएको छ ।

Facebook Comments Box