पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक, २८ मङ्सिर – निर्धारित समयसीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ।

आयोजनाको अन्तिम चरणअन्तर्गत पाँचखाल नगरपालिकाका करिब छ हजार परिवारमा खानेपानी वितरण सुरु भइसकेको छ, जसबाट ३१ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन्।

आयोजना कार्यालयका अनुसार विभिन्न कारणले ढिलाइ भए पनि आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पुगेको छ। गत वर्ष असोजमा आएको बाढीपहिरोबाट क्षति पुगेपछि मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न गरी आयोजना सञ्चालनतर्फ अघि बढाइएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो।

उहाँका अनुसार सुनकोसी नदीस्थित मुहानबाट पानी लिफ्टिङ गरी पाँचखाल नगरपालिका–९, डाँडागाउँमा रहेको ३९ लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र तथा ओभरहेड ट्याङ्कीमा सङ्कलन गरी परीक्षणपछि लक्षित बस्तीमा वितरण गरिएको छ।

केही थपिएका परिवारसम्म पानी पुर्‍याउन अध्ययन भइरहेको र आगामी पुसको दोस्रो सातासम्म आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।

आयोजनाअन्तर्गत स्रोतबाट प्रतिसेकेण्ड ८४ लिटर पानी प्रशोधन केन्द्रमा ल्याइ वितरण गरिएको छ। प्रतिघण्टा तीन लाख दुई हजार ४०० लिटर पानी तान्न सकिने क्षमताको आयोजना रहेको समितिले जनाएको छ। लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिनेछ।

यसअघि गत वर्ष असोजको बाढीपहिरोले मुहान क्षेत्र डुबानमा परेपछि करिब ७५ मिटर पर्खाल भत्कनुका साथै ४८ स्थानमा वितरण पाइप र अन्य संरचनामा करिब एक करोड ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो, जसका कारण पहिलो चरणमै खानेपानी वितरण गर्ने योजना प्रभावित भएको थियो।

आयोजनाअन्तर्गत सुनकोसी नदी किनारमा छ वटा इनार, चार–चार लाख लिटर क्षमताका दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ओभरहेड ट्याङ्की, १० वटा वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की र १५ वटा पाले घर निर्माण सम्पन्न भएका छन्।

साथै छ किलोमिटर मुख्य प्रसारण लाइन, ३५ किलोमिटर शाखा प्रसारण लाइन र २२० किलोमिटर वितरण पाइपलाइनको काम सकिएको छ। हाल कूल छ हजार ३७ धारा सञ्चालनमा आइसकेका छन्।

सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ता समितिबीच विसं २०७७ असार १५ गते सम्झौता भई आयोजनाको काम सुरु भएको थियो।

कोरोना सङ्क्रमण, मेलम्ची बाढी र गत वर्षको बाढीपहिरोका कारण आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको हो। रु एक अर्ब ४७ करोड ४३ लाख ६० हजार लागतमा निर्माण सम्पन्न हुने यस आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका ३१ हजार ४१५ नागरिक लाभान्वित भएका छन्।

आयोजना कार्यालयका अनुसार प्रतिव्यक्ति दैनिक १९२.०५ लिटर पानी उपभोग गर्न सकिनेछ। यस आयोजनाबाट सन् २०४० सम्म करिब ४५ हजार नागरिक लाभान्वित हुने प्रक्षेपण गरिएको छ।

सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकार र उपभोक्ताको साझेदारीमा आयोजना सञ्चालन गरिएको हो। उपभोक्ताले पाँच प्रतिशत लागत व्यहोर्दै प्रतिपरिवार १८ हजार रुपैयाँका दरले योगदान गरेका छन् भने २१४ विपन्न वर्गका उपभोक्ताले स्थानीय सहकारीबाट ऋण लिएर सहभागिता जनाएका छन्।

Facebook Comments Box