‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ सम्पन्न

भक्तपुर, २७ मङ्सिर – यस वर्षको ‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ शुक्रबार चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ। ७७औँ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा १७औँ राष्ट्रिय मानवअधिकार महोत्सवका अवसरमा चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा सम्मेलन गरिएको हो। कार्यक्रममा राष्ट्रिय जनवकालत मञ्च नेपाल तथा स्वच्छ हावा सञ्जाल चाँगुनारायणले सहकार्य गरेका थिए।

सम्मेलनको उद्घाटन गर्दै काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वच्छ हावा लिएर बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले वातावरण सुधारका लागि स्थानीय तहले कूल बजेटको २० देखि २५ प्रतिशत हिस्सा विनियोजन गर्नुपर्ने, सडकको दायाँ–बायाँ रुख रोप्नुपर्ने र घरको नक्सा पास गर्दा घर कम्पाउण्डभित्र कम्तीमा दुईवटा रुख रोप्ने व्यवस्था लागू गर्नुपर्ने उल्लेख गर्नुभयो।

महर्जनले वातावरण प्रदूषण गर्नेहरूलाई कडा कारबाहीको नीति लिइएको जानकारी दिँदै सडकमा रुख काट्ने वा वातावरण नोक्सान पुर्‍याउनेलाई एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था रहेको बताउनुभयो। साथै, नेपाली सेनाले वर्षौँदेखि भोगचलन गर्दै आएको लगनखेलस्थित पेट्रोल पम्प पछाडिको ३० रोपनी जग्गा तथा पागल पोखरी क्षेत्रको १५ रोपनी जग्गा महानगरपालिकाले फिर्ता लिएर हरियालीसहितको ठूलो पार्क निर्माण गरिएको जानकारी दिनुभयो।

कार्यक्रमका अध्यक्ष एवं चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले वातावरणमैत्री विकास निर्माणमा नगरपालिकाले विशेष जोड दिएको बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले वातावरण संरक्षणका क्षेत्रमा सरोकारवाला निकाय र आमनागरिकको सहकार्यमा विभिन्न कार्यक्रम अगाडि बढाइरहेको छ।

खत्रीले चाँगुनारायण नगरपालिका देशभरका ७५३ स्थानीय तहमध्ये वायु गुणस्तर कार्ययोजना तयार गर्ने पहिलो नगरपालिका भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार नगरभित्रका इँटाभट्टाको संख्या घट्दै गएको छ भने सञ्चालनमा रहेका इँटाभट्टाले पनि वातावरणमैत्री प्रविधि अपनाउन थालेका छन्, जसका कारण वायु प्रदूषण न्यूनीकरणमा सकारात्मक प्रभाव देखिन थालेको छ।

Facebook Comments Box