आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै धान रोपाइँ

नवलपरासी, २३ असार – परम्परागत रूपमा धेरै जनशक्ति, समय र श्रम आवश्यक पर्ने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ। कृषि क्षेत्रमा श्रमिक अभाव, उत्पादन लागतमा वृद्धि र जलवायु परिवर्तनका चुनौतीबीच धान रोप्ने मेसिन किसानका लागि प्रभावकारी विकल्पका रूपमा स्थापित हुन थालेको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिएको छ। मध्यविन्दु–१ स्थित प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न गर्न थालेपछि किसानको आकर्षण बढेको छ।

परम्परागत विधिबाट दिनौँ लाग्ने काम मेसिनमार्फत छोटो समयमा सम्पन्न हुन थालेको सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताउनुभयो। उहाँका अनुसार मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घटाउनुका साथै रोपाइँ व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको समेत बचत हुने गरेको छ।

“खेतीपातीमा जनशक्ति अभाव बढ्दै गइरहेको अवस्थामा आधुनिक प्रविधिले कृषि कार्यलाई निकै सहज बनाएको छ,” उहाँले भन्नुभयो, “कम श्रम र कम समयमा धेरै काम गर्न सकिने भएकाले किसानको यान्त्रीकरणप्रतिको विश्वास बढ्दै गएको छ।” मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले कृषिलाई व्यावसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राखिएको बताउनुभयो।

उहाँका अनुसार नगरपालिकाले धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर, कृषि एम्बुलेन्सलगायतका आधुनिक कृषि उपकरण किसानलाई ८५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ। उहाँले उत्पादन लागत घटाउने, कृषि उत्पादन बढाउने र युवालाई कृषि पेसातर्फ आकर्षित गर्ने लक्ष्यसहित यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।

जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत गैँडाकोट नगरपालिकाका पाँच वडामा धान जोन कार्यक्रम सञ्चालन भइरहेको छ। त्यहाँ पनि कृषक समूहले धान रोप्ने मेसिन प्रयोग गरिरहेका छन् भने यस वर्ष कम्बाइन हार्भेस्टरसमेत उपलब्ध गराइएको छ।

कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। पछिल्लो समय धान रोप्ने मेसिनलगायत आधुनिक कृषि उपकरणप्रति किसानको माग र आकर्षण उल्लेख्य रूपमा बढेको उहाँले बताउनुभयो।

उहाँका अनुसार कृषि क्षेत्रमा देखिएको श्रमिक अभाव, बढ्दो उत्पादन लागत र जलवायु परिवर्तनका चुनौतीका कारण यान्त्रीकरण अब विकल्प मात्र नभई आवश्यकता बन्दै गएको छ। आधुनिक प्रविधिको विस्तारसँगै किसानको श्रम घट्नुका साथै कृषि पेसाप्रतिको आकर्षण पनि बढ्दै गएको उहाँको भनाइ छ।

Facebook Comments Box