निर्वाचन आउन ८२ दिन बाँकी : समानुपातिक प्रणालीतर्फ सहभागी दललाई चुनाव चिन्ह प्रदान

काठमाडौँ, २७ मङ्सिर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ। आयोगले शुक्रबार दर्ता भएका दललाई औपचारिक रूपमा निर्वाचन चिन्ह उपलब्ध गराएको हो।

सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीतर्फ सहभागी हुन मङ्सिर २१, २२ र २३ गते गरी तीन दिनको समयसीमाभित्र दलहरूले आवेदन दिएका थिए। आयोगका अनुसार उक्त प्रणालीतर्फ १०० राजनीतिक दलले आवेदन दिएका भए पनि दुई वा दुईभन्दा बढी दलले एउटै एकल चुनाव चिन्ह प्रयोग गर्ने गरी आवेदन दिएका कारण कूल ९३ वटा निर्वाचन चिन्ह कायम गरिएको छ।

आयोगले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दलहरूले प्राप्त गरेको समानुपातिक मतका आधारमा क्रमसङ्ख्या र चुनाव चिन्ह निर्धारण गरिएको जनाएको छ। नयाँ दलको हकमा भने दर्ताको क्रमका आधारमा चिन्ह प्रदान गरिएको हो। आयोगले पहिलो क्रममा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता र सातौँमा लाउडस्पिकर चुनाव चिन्ह निर्धारण गरेको छ।

यसका साथै पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसियालगायतका विभिन्न चुनाव चिन्ह पनि कायम गरिएको छ।

आयोगका अनुसार नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्हका रूपमा ‘बस’ प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले ‘चकिया (जाँतो)’ चुनाव चिन्ह पाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले ‘कोदालो’ तथा सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले ‘जगर भएको सिंह’ एकल चुनाव चिन्ह प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

Facebook Comments Box