अध्यक्ष केपी शर्मा ओलीसहितको नेकपा एमालेका नेताकाे टोली बालुवाटारबाट बाहिरिए

काठमाडौँ, १० फागुन – अध्यक्ष केपी शर्मा ओलीसहितको नेकपा एमालेका नेताकाे टोली बालुवाटारबाट बाहिरिएको छ। एमाले अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमालका साथमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेर केही बेरअघि प्रधानमन्त्री निवासबाट निस्किएका हुन्।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्री देउवाले एमालेसँग सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिए।

‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ’, रिजालले भने। संसदमा पेस अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधुपमा रहेका प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न बालुवाटार बोलाएका हुन्।

एमसीसी टेबल भए पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पास गराउने पक्षमा मत दिन नसक्ने बताइरहेका बेला संसदको ठूलो दलसँग कांग्रेसले संवाद बढाएको हो।

आइतबार संसदमा एमसीसी टेबुल भएकै दिन दुई नेताबीच वार्ता हुने तयारी थियो। तर प्रदर्शनकारीहरूले ओली सवार गाडीमा पनि ढुंगा हानेपछि दुई नेताको भेट रोकिएको थियो।

Facebook Comments Box