नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलि आंशिक बन्द नहुने
मलेखु (धादिङ), २६ मङ्सिर । उस्तरोन्नति अन्तर्गत दैनिक पाँच घन्टा आंशिक बन्द गरिँदै आएको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि पूर्णरूपमा खुला गरिने भएको छ। नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई ध्यानमा राख्दै यातायात आवागमन सहज बनाउन दुई दिनका लागि सडक बन्द रोकिएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मङ्सिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म सडक आंशिक रूपमा बन्द गर्दै काम गरिरहेको थियो। नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार महाधिवेशनका कारण सवारी चाप बढ्ने, जामको सम्भावना रहने भएकाले सम्बन्धित जिल्ला प्रशासनसँगको समन्वयमा दुई दिनका लागि सडक खुला राखिने निर्णय गरिएको हो।
“उस्तरोन्नतिको कामलाई तीव्रता दिँदै आएका छौँ, तर महाधिवेशनलाई मध्यनजर गर्दै आज र भोलि बन्द नगर्ने निर्णय लिएका छौँ,” उहाँले बताउनुभयो। युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भेट गरी महाधिवेशन अवधिमा सडक खुला राखिदिन आग्रह गरेको थियो।
यसैबीच, सडक विभागले नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने नौबिसे–मलेखु खण्डस्थित बाङ्गेभीरमा सडक चौडाइकरणलाई पनि तीव्रता दिएको जनाएको छ।

