दरबारको सौन्दर्यीकरणपछि आन्तरिक पर्यटकको आकर्षण बढ्दै
बागलुङ, २५ मङ्सिर – एक सय वर्ष पुरानो ऐतिहासिक गलकोट दरबार संरक्षण र सौन्दर्यीकरण भएपछि अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ। एक समय जीर्ण बनेको यो दरबार पुनःपुरानै स्वरूपमा फर्किएपछि गलकोट र आसपास क्षेत्रको पर्यटनमा नयाँ चमक देखिएको स्थानीयले बताएका छन्।
पुरानो सदरमुकाम हरिचौर बजारस्थित दरबारलाई संरक्षण गर्ने अभियानमा सक्रिय मन्जेस बम मल्लका अनुसार, दरबार क्षेत्रको पुनःनिर्माण, आकर्षक रङरोगन, मौलिक झ्याल–ढोका र खाने–बस्ने सुविधा जोडिएपछि पर्यटकको चहाना उल्लेख्य रूपमा बढेको हो।
द्वन्द्वकालमा मल्ल राजाका उत्तराधिकारीहरू विस्थापित भएपछि उजाड बनेको दरबार पछिल्ला वर्षहरूमा निरन्तर मर्मत र सम्वर्द्धनमार्फत पुरानै भव्य रूपमै फर्काइएको छ। दरबार परिसरमै तीन वर्षअघि सञ्चालनमा आएको रेष्टुराँले पनि पर्यटक आकर्षणमा थप योगदान गरेको छ। पुरानो घर र गोठलाई मौलिक शैलीमै पुनर्निर्माण गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको मल्लले बताउनुभयो।
गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास बोकेको यो दरबार संरक्षणसँगै अध्ययन, फोटोग्राफी, भिडियो तथा सांस्कृतिक अवलोकनका लागि आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको मल्लले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष मात्र २० हजारले दरबार अवलोकन गरेका थिए।
मल्लसहित चार युवाले रु ५० लाख लगानीमा दरबार परिसरमा रेष्टुराँ तथा अन्य संरचना सञ्चालनमा ल्याएका छन्। दरबार क्षेत्रमै माछापोखरी निर्माण गरी विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ। दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा रहेको छ।
विसं २०३९ मा तत्कालीन राजा भरतबम मल्लको निधनपछि संरक्षणको जिम्मा छोरा माधव मल्ललाई दिइएको थियो। तर २०५९ वैशाखमा माधव मल्लको हत्या भएपछि परिवार काठमाडौँमा विस्थापित भयो र दरबार जीर्ण हुँदै गयो। पछिल्ला वर्षहरूमा नाति मन्जेश बम मल्लले संरक्षण अभियान शुरु गरेपछि दरबार पुनर्जीवित भएको र पर्यटक आगमन तीव्र बनेको स्थानीयको भनाइ छ।

