बस र अटो आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
धरान, २४ मंसिर – धरान उपमहानगरपालिका–१९ को मिलनचोक नजिकैको भित्री सडकमा आज बिहान बस र अटो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्का अनुसार करिब बिहान ९:४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको को १ ह ८७७४ नम्बरको अटो (टेम्पो) लाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक धरान–१९ एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
अटोमा सवार धरान–१९ का ४८ वर्षीय टिकाराम लिम्बू घाइते भएका छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ।
यस दुर्घटनामा संलग्न बस चालक धरान–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

