एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
काठमाडौँ, २४ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
आज प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग संवाद गर्दै पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन्।
आफूले नेतृत्वको पुस्तान्तरण, समावेशीता तथा विधि–प्रक्रियामाथि आधारित पार्टी सञ्चालनको अपेक्षा राख्ने नेता–कार्यकर्ताको भावना सम्मान गर्न अध्यक्ष पदमा उभिन लागेको उनले बताए।
पोखरेलले चुनावी प्रतिस्पर्धालाई स्वाभाविक ठान्दै जित–हार जे भए पनि पार्टीको पक्षमा दृढताका साथ रहने स्पष्ट गरे। राजनीतिमा कसैलाई पनि सहभागी हुन नदिने अधिकार कसैसँग नभएको उल्लेख गर्दै उनले संविधान, पार्टी विधान र अन्तरराष्ट्रिय अभ्यासअनुसार जो कोहीलाई पनि राजनीति गर्ने स्वीकृति हुनुपर्ने धारणा व्यक्त गरे।
प्रतिनिधिसभा पुनःस्थापनाबारेको मुद्दा अदालतमा विचाराधीन रहेकोले यस विषयमा अनावश्यक टिप्पणी गर्नु उचित नहुने उल्लेख गर्दै पोखरेलले एमाले लोकतन्त्र र निर्वाचनप्रति प्रतिबद्ध भएकाले आगामी निर्वाचनमा अवश्य सहभागी हुने बताए।
उनले मुलुकका वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा पनि राखे। कार्यक्रममा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरू सहभागी थिए।

