समानुपातिक निर्वाचनका लागि १०० दल दर्ता
काठमाडौँ, २४ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ सहभागी हुन १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएको आयोगले जनाएको छ। आयोगले मङ्सिर २१ देखि २३ गतेसम्मको समयसीमा तोकी समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताका आवेद—न लिएको थियो। सो अवधीमै संयुक्त तथा एकल निर्वाचन चिन्ह लिएका गरी एक सय राजनीतिक दलले दर्ता निवेदन दर्ता गराएका हुन्।
आयोगले प्राप्त आवेदमाथि आवश्यक अध्ययन तथा छानबिन गरी मङ्सिर २६ गतेभित्र स्वीकृत गर्ने बताएको छ। आगामी पुस १३ र १४ गते समानुपातिक तर्फको बन्द सूची पेश गर्नुपर्नेछ। आयोगको कार्यतालिका अनुसार पुसपछि अध्ययन सम्पन्न गरी माघ ४ गते प्रारम्भिक सूची प्रकाशन गरिनेछ।
त्यसपछि दाबी–विरोध तथा आवश्यक छानबिन प्रक्रियाबाट गुज्रिएपछि माघ २० गते अन्तिम सूची सार्वजनिक हुने आयोगले जनाएको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष तर्फबाट र ११० सदस्य समानुपातिक तर्फबाट चयन हुने व्यवस्था छ।

