मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ सुरु

मुस्ताङ, २२ मङ्सिर – हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको वास्तविक सङ्ख्या पत्ता लगाउन क्यामेरा ट्यापिङमार्फत वैज्ञानिक अध्ययन थालिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको संयुक्त समन्वयमा उच्च पहाडी क्षेत्रका सम्भावित बासस्थानमा क्यामेरा जडान कार्य सुरु गरिएको हो।

बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत झोङ, पुडाक, छेङ्गुर, थोरङ फेदी, फल्याक, धार्काजुङ तथा मुस्ताङ–डोल्पा सडकको उच्च लेकमा पहिलो चरणमा १५ वटा क्यामेरा जडान गरिएको छ। घरपझोङ गाउँपालिकाका स्याङ, मार्फा र चिमाङका उच्च क्षेत्रमा आजदेखि थप क्यामेरा जडान सुरु हुने बताइएको छ।

गुरुङ, सहायक प्रवीन लामा र एक्यापका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीको टोलीले सम्भावित बासस्थान चिनी–पहिचान गरी क्यामेरा जडान गरेका छन्। जडान गरिएका क्यामेरा दुई महिनासम्म लेक क्षेत्रमा राखिनेछन्। त्यसपछि डाटा संकलन, विश्लेषण गरी विस्तृत प्रतिवेदन तयार पारिनेछ।

अब भइरहेको अध्ययनमा हिउँ चितुवाको सङ्ख्यासँगै यसको आहारा प्रजातिको अवस्था, मानव–हिउँ चितुवा द्वन्द्व र जलवायु परिवर्तनले पारिरहेको प्रभावका तथ्यहरू पनि संकलन गरिने गुरुङले बताए। एक्यापका अनुसार सन् २०२२ देखि मनाङमा लगातार चार वर्ष क्यामेरा ट्यापिङमार्फत हिउँ चितुवा अध्ययन भए पनि मुस्ताङमा यो प्रकारको सुदृढ अध्ययन पहिलो पटक सुरु भएको हो।

माथिल्लो मुस्ताङमा विद्यावारिधि तहका विद्यार्थीले पनि छुट्टै क्यामेरा ट्यापिङ अनुसन्धान थालिसकेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जनाए। मुस्ताङमा पछिल्लो समय हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दो छ। उच्च लेकमा घाँस नउब्जने, पानीका स्रोत सुक्दै जानु र आहारको कमीका कारण हिउँ चितुवा बस्ती नजिक झर्ने घटना बढेका छन्।

पशुपालकका गोठमै पसेर चौपायामा हानि पुर्‍याउने घटना दोहोरिन थालेपछि संरक्षण र सहअस्तित्व दुवै चुनौती बनेका छन्। यस्तै तापक्रम बढ्दै जाँदा तल्लो उचाइमा बस्ने कमन लेपार्ड पनि माथिल्लो क्षेत्रमा सर्ने प्रवृत्ति देखिन थालेको विशेषज्ञहरूको भनाइ छ, जसले वन्यजन्तु–मानव सम्बन्धमा थप जटिलता बढाएको छ।

Facebook Comments Box