नागढुङ्गा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडौँ, २२ मङ्सिर – सडक निर्माणमा अपेक्षित प्रगति नहुँदा नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आगामी मङ्सिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघि सरोकारवालालाई बोलाएर समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको थियो। निर्माण व्यवसायी र आयोजना पक्षले सवारीसाधनको निरन्तर आवागमनका कारण निर्माण कार्य प्रभावित भएकाले ट्राफिक नियन्त्रण आवश्यक रहेको बताएका थिए।
यसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रूपमा सूचना जारी गर्दै मङ्सिर २४ देखि पुस १ गतेसम्म बिहान १०:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म सडक बन्द रहने जानकारी दिएका छन्। सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा समय पूर्व–व्यवस्थित गर्न सुझाव दिइएको छ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र तथा स्तरोन्नतिको अन्तिम चरणमा छ। काठमाडौँभित्रको नागढुङ्गा–पिप्लामोड भाग साँघुरो भएकाले गह्रौँ उपकरण तथा सामग्री एकैपटक परिचालन गर्न बन्द आवश्यक परेको छ। त्यस्तै धादिङको गल्छी–गजुरी खण्ड पनि जोखिमयुक्त तथा साँघुरो भएपछि पोखरेभिर क्षेत्रमा चौडाइ विस्तारको काम भइरहेको छ।
सडक बन्दको व्यवस्था
-
काठमाडौँबाट नौबिसे जाने सवारी नागढुङ्गा चेकपोस्टमै रोकिनेछ।
-
मुग्लिङतर्फबाट काठमाडौँ आउने सवारी खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी, बैरेनी र मासटारमा रोकिँदै जानेछन्।
-
अत्यावश्यक प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल तथा शववाहनलाई ट्राफिक प्रहरीले सहजीकरण गर्नेछ।
-
साना तथा मध्यम सवारी आवश्यक परेमा सीतापाईला–भिमढुङ्गा, रामकोट–धार्के तथा सामाखुसी–टोखा–छहरे मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न सक्नेछन्।
सूचनामा रोकिएका सबै सवारीसाधन अपराह्न ३:३० बजेपछि मात्र छाडिने उल्लेख छ।

