इलाम विपद् सङ्कटग्रस्त क्षेत्र घोषित

काठमाडौँ, २३ असोज — सरकारले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

यही असोज १८ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण पहिरो र बाढीमा परी पूर्वी पहाडी जिल्ला इलाममा ३९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सो घटनामा एक जना बेपत्ता र २६ जना घाइते भएका छन्। बाढीपहिरोका कारण सडक सञ्जाललगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

बैठकले जलविद्युत् आयोजनाको स्रोत व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बराबरको ऊर्जा वण्ड (Energy Bond) चरणबद्ध रूपमा निष्काशन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, प्रहरी नायब महानिरीक्षक सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि भएको छ।

बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ अनुसार गठित भूमि समस्या समाधान आयोग तथा सबै जिल्लाका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ।

यस्तै, त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति, २०८१ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको छ।

अध्यागमन र भिजिट भिसाका सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधानका लागि गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समिति, २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइएको छ।

त्यसैगरी, नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समिति, २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो।

Facebook Comments Box