लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा, जनकपुरसहित तीन टिम बाहिर

काठमाडौं, १९ मंसिर – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलोपटक प्लेअफमा स्थान बनाएको छ।

शुक्रबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी चौथो प्लेअफ टोली बनेको हो।लुम्बिनीको जितसँगै जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र चितवन राइनोजको प्लेअफ पुग्ने आशा अन्त्य भएको छ।

कर्णाली याक्स यसअघि नै होडबाट बाहिरिसकेको थियो। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्।

सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ भने लुम्बिनीले एलिमिनेटर खेल्नेछ। शनिबार हुने सुदूरपश्चिम–विराटनगर खेलपछि दोस्रो र तेस्रो स्थान तय हुनेछ।

जनकपुरले दिएका १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३०, जेजे स्मिथले २१ तथा निरोशन डिकवेलाले १७ रन जोडे।

पहिलो बलमै ओपनर सुमित महर्जन आउट भए पनि सर्ट–रोहितले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै आधार बलियो बनाएका थिए। १२औँ ओभरमा मयन यादवले लगातार दुई विकेट लिएपछि खेल रोमाञ्चक बनेको थियो, तर डिकवेला र स्मिथले पारीलाई सम्हाले।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो। संगीथ कुरेले ४५ रन, मयन यादवले २७ अविजित, र ओपनर आसिफ शेखले २० रन योगदान दिए। ८३/६ को स्थितिमा कुरे–यादवले ४९ रनको अविजित साझेदारी गर्दै स्कोर उकासेका थिए।

लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए भने जेजे स्मिथ र रुबेन ट्रम्पल्म्यानले १–१ विकेट हात पारे।
जनकपुरका लागि संगीथ कुरेले ३, मयन यादवले २ तथा सञ्जय कृष्णमुर्तीले १ विकेट लिए।

Facebook Comments Box