लैनचौर दुर्घटनामा भारतीय नागरिकको मृत्यु, ट्राफिक प्रहरी सहित २ जना घाइते
काठमाडौँको लैनचौरस्थित केशरमहल नजिक सडक दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रुको पहिचान खुलेको छ। मंगलबार अपराह्न भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति भारतका ३४ वर्षीय शेख साखिर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
साखिर १० वर्षदेखि नेपालमा बस्दै आएका थिए र घर निर्माणसम्बन्धी काम गर्दै आएका थिए। उनी काठमाडौँको धोबीचौरमा बसोबास गर्दै आएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा दुई जना ट्राफिक प्रहरी समेत घाइते भएका छन्। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत हवल्दार परशुराम ठाकुर तथा कार चालक सुरेशराज कालिका घाइते भएको प्रहरीले जनाएको छ। कारले दुई जनालाई ठक्कर दिएपछि केशरमहलको पर्खालमा ठोक्किएको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ।

