आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौँ, १६ मंसिर – विश्वभर आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा भर्ती गर्नेजस्ता आधुनिक दासत्वका रूपबारे जागरूकता फैलाउँदै दमनकारी प्रथाहरू अन्त्य गर्न यो दिवसको उद्देश्य रहेको छ।

यस दिवसको प्रारम्भ संयुक्त राष्ट्रसंघले सन् १९४९ को डिसेम्बर २ मा मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी महासभा प्रस्ताव पारित गरेको दिनको सम्झनामा गरिएको हो। राष्ट्रसंघका तथ्यांकअनुसार आज पनि विश्वभर पाँच करोडभन्दा बढी मानिस आधुनिक दासत्वको जोखिममा छन्, जस मध्ये धेरैजसो महिला र बालबालिका जबरजस्ती श्रम तथा शोषणमा फसाइएका छन्।

जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार र संरचनात्मक असमानताका कारण केही समुदायहरू अझै पनि शोषणको उच्च जोखिममा रहेको बताइन्छ। प्रवासी तथा असुरक्षित श्रमिकहरू घरेलु काम, कृषि, निर्माण, वस्त्र उद्योगदेखि यौन शोषणसम्मका विभिन्न क्षेत्रमा आर्थिक दुव्र्यवहारमा परिरहेको उल्लेख गरिएको छ।

अन्तरराष्ट्रिय श्रम सङ्गठन (ILO) ले आधुनिक दासत्व अन्त्य गर्न सरकार, समुदाय र नागरिक समाजबीच सुदृढ सहकार्य आवश्यक रहेको बताउँदै पीडितको उद्धार, पुनर्स्थापना, न्याय र दीर्घकालीन सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ।

Facebook Comments Box