गीता जयन्ती पर्व आज विविध धार्मिक कार्यक्रमसहित मनाइँदै
काठमाडौँ, १५ मङ्सिर – वैदिक सनातन हिन्दू धर्मावलम्बीले पवित्र ग्रन्थ भगवद्गीता प्रादुर्भाव भएको दिनको स्मरणमा आज देशभर पाठपारायण, प्रवचन तथा धार्मिक कार्यक्रम गरी गीता जयन्ती मनाइरहेका छन्। गीता जयन्तीमार्फत वैदिक ज्ञान र दर्शन भावी पुस्तासम्म पुर्याउन विभिन्न संस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्।
धार्मिक मान्यताअनुसार ५१३३ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा महाभारत युद्ध प्रारम्भ हुनै लाग्दा भगवान् कृष्णले अर्जुनलाई गीता उपदेश सुनाएका थिए। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार युद्धको अवस्थामा अर्जुन आफन्तविरुद्ध लड्न हिच्किचाएपछि भगवान् कृष्णले उनलाई कर्तव्य, धर्म, योग र कर्मका सिद्धान्त बुझाउँदै गीता उपदेश दिए।
“त्यसबेला कौरवका ११ र पाण्डवका ७ अक्षयोनी सेना तयार थिए,” प्रा. नेपाल बताउँछन्, “अर्जुनलाई दुविधाबाट मुक्त गरी धर्मयुद्धमा प्रेरित गर्न गीता उपदेश सुनाइएको हो।” जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीका अनुसार चार वेदका १,१३१ शाखामध्ये हाल केवल १२ शाखा मात्र अवशेष रहेकाले वैदिक ग्रन्थ लोप हुने चिन्ता बढेको छ।
“गीतामा पनि त्यही अवस्था नआओस् भन्ने उद्देश्यले जनजागरणमूलक कार्यक्रममार्फत गीता जयन्ती मनाउन थालिएको हो,” अधिकारीले बताए। प्रतिष्ठानले गत ११ वर्षदेखि मोक्षदा एकादशीका दिन नियमित रूपमा गीता जयन्ती मनाउँदै आएको छ।
त्यसैगरी स्वयम्भूस्थित गीता मन्दिर, विश्व हिन्दू महासङ्घ तथा यसको शाखाहरूले पनि काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्नेछन्। यस अवसरमा विभिन्न मन्दिर तथा धार्मिक स्थलहरूमा गीता पाठ, भक्ति–ज्ञान–वैराग्य योगसम्बन्धी प्रवचन, र अन्य आध्यात्मिक कार्यक्रम हुने जनाइएको छ।

