घरजग्गा कारोबार गर्ने कम्पनीका लागि आवेदन म्याद २७ मङ्सिरसम्म
काठमाडौँ, १५ मङ्सिर – भूमि व्यवस्था तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन इच्छुक फर्म, कम्पनी वा संस्थाका लागि आवेदन दिने म्याद मङ्सिर २७ गतेसम्म थप गरेको छ। यसअघि विभागले असोज १३ गते सूचना जारी गर्दै सार्वजनिक रूपमा आवेदन आह्वान गरेको थियो।
मालपोत ऐन, २०३४ बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीको कार्यक्षेत्र तोकेको थियो। पहिलो चरणमा विभागले महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा परिभाषित गरेको छ।
एकपटकमा रु ३ करोडभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म वा कम्पनीले इजाजतका लागि आवेदन दिन सक्ने व्यवस्था छ। विभागका अनुसार घरजग्गा व्यवसायलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउन यो प्रक्रिया अघि बढाइएको हो।
गत शुक्रबारदेखि लागू हुनेगरी म्याद थप गरिएको विभागले जनाएको छ। पहिलो चरणमा ६ महानगरपालिका र ११ उपमहानगरपालिका भित्र किरियाकलाप व्यवस्थित गर्न कम्पनी दर्ता प्रक्रिया चलाइएको छ। यसअघि आवेदन कम परेकाले समयावधि बढाइएको हो। विभागका अनुसार गत कात्तिक महिनामा घरजग्गा कारोबारबाट रु २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ राजस्व सङ्कलन भएको छ।
त्यसैगरी—
-
सेवाकर: रु २१ करोड ३४ लाख ४७ हजार ४१३
-
रजिस्ट्रेशन शुल्क: रु १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४
-
पूँजीगत लाभकर: रु ९९ करोड ७८ लाख ४४ हजार ३९२
राजस्व संकलन भएको विभागले जनाएको छ।

