सर्वोच्च न्यायालयमा आगजनी र तोडफोड गरेको आरोपमा अपराधमा संलग्न व्यक्तिदेखि विद्यार्थी नेतासम्म पक्राउ
काठमाडौं, १२ मंसिर – सर्वोच्च न्यायालयमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले विभिन्न अपराधमा संलग्न रहँदै आएका व्यक्तिदेखि विद्यार्थी नेतासम्मलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म पाँच जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।
आगजनी प्रकरणको अनुसन्धान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसर काठमाडौंको संयुक्त टोलीले गरिरहेको छ। सार्वजनिक भएका भिडियो, फोटो तथा सीसीटीभी फुटेजका आधारमा पहिचान र तथ्य संकलन भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये दुई जना यसअघि नै हातहतियार तथा आपराधिक उपद्रवका मुद्दामा कारागार चलान भइसकेका व्यक्ति हुन्। काभ्रे मण्डनदेउपुरका २३ वर्षीय एलेक्स नेपाली (कुमार पराजुली) र ललितपुर–१३ का ३६ वर्षीय सम्राट (राजु परियार) सर्वोच्च आगजनीमा संलग्न भएको प्रमाण पाएपछि थप अनुसन्धान थालिएको छ।
एलेक्स नेपालीको घटनास्थलमा देखिएको भूमिका, प्रहरीबाट लुटिएको पेस्तोलसहित सक्रियता र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोका आधारमा उनलाई १२ कात्तिकमा पक्राउ गरिएको थियो।
त्यस्तै सम्राट भने ज्यान मार्ने उद्योगसहित आठ मुद्दामा मुद्दा खेपिसकेका व्यक्ति हुन्। सर्वोच्च परिसरबाट एसएलआर बन्दुक लुटेको र सिंहदरबार अगाडि कक गरेको दृश्य सार्वजनिक भएपछि उनलाई पनि सर्वोच्च आगजनीसम्बन्धी प्रकरणमा अनुसन्धान गरिँदै छ।
यसैगरी झापा भद्रपुर–१ की २८ वर्षीया ज्योति थापा घताने र ललितपुर महालक्ष्मीस्थान–५ का ३० वर्षीय सुशील श्रेष्ठ (ब्राउन) समेत प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जेनजी आन्दोलनका क्रममा अदालतमा तोडफोड र आगजनी गरेको सार्वजनिक सामग्रीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सुशील यसअघि लागुऔषधसम्बन्धी मुद्दामा समेत पक्राउ परेका थिए।
सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेकामध्ये नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति तथा पूर्वमाओवादी निकट विद्यार्थी नेता विष्णु ढुंगेल पनि छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
भिडियो वा फोटो प्रमाण नपाइए पनि उनले उक्साउने अभिव्यक्ति दिएर आगजनीमा मतियारको भूमिका खेलेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतमा आगजनी र तोडफोडपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरिएको छ। आगलागीका कारण न्यायालयका महत्वपूर्ण कागजात नष्ट भएको प्रहरीले जनाएको छ।

