जैविक तटबन्धले जोगायो विद्यालय र बस्ती

सिरहा, १३ मंसिर – चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको कटानले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरी र बेतहा आधारभूत विद्यालय वर्षेनी जोखिममा पर्ने गर्थे। वर्षा सुरु हुनासाथ रौद्र रूपमा बग्ने खोलाले विद्यालयदेखि स्वास्थ्य चौकीसम्मलाई गम्भीर संकटमा पार्ने हुँदा बस्तीका बासिन्दा हरेक वर्ष त्रसित हुन्थे।

विद्यालयका प्रधानाध्यापक सुन्दरलाल चौधरीका अनुसार वर्षायाममा खोलाको प्रहार विद्यालयसमेत डुबानमा पर्ने खतरा बढ्थ्यो, जसले कक्षाकोठा चिस्याइदिने र अध्ययन–अध्यापन नै प्रभावित बनाइदिने गरेको थियो। बाढीले विद्यालय मात्र होइन, नजिकैको स्वास्थ्य चौकी पनि बारम्बार जोखिममा पथ्र्यो।

तर यो वर्ष अवस्था बदलिएको छ। लहान नगरपालिकाको समन्वयमा करिब छ महिनाअघि सुरु गरिएको संरक्षण परियोजनाअन्तर्गत यहाँ जैविक तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ। केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल तथा स्थानीय बासिन्दाको श्रमदानबाट यो तटबन्ध बनाइएको हो।

बाँस, घाँस, बिरुवा र स्थानीय प्रजातिका बोटबिरुवाको प्रयोग गरेर बनाइएको तटबन्ध वातावरणमैत्री, लागत–कम र दीर्घकालीन रूपमा माटो सम्हाल्ने उपायका रूपमा प्रभावकारी हुने फेकोफनका कार्यक्रम अधिकृत टेकेन्द्र साहले बताए।केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदिश भट्टका अनुसार बेतहा क्षेत्रमा तीनवटा जैविक तटबन्ध निर्माण गरिएका छन्।

“स्थानीय स्रोत, श्रमदान र न्यूनतम बजेटबाट बनाइएका यी तटबन्धले पहिरो रोकथाम र नदी कटान नियन्त्रणमा प्रभावकारी काम गरिरहेका छन्,” भट्टले बताए। वडा नं १५ का अध्यक्ष तेजनारायण चौधरीले यो विधि सफल देखिएको भन्दै भविष्यमा अन्य जोखिमयुक्त क्षेत्रहरूमा पनि यही मोडल लागू गरिने बताए। तटबन्ध बनेपछि स्थानीयको आत्मविश्वास बढेको छ।

विचारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर तामाङका अनुसार सामुदायिक एकता र श्रमले नदी नियन्त्रण गर्न सकिने अनुभव भएपछि बस्ती सुरक्षित रहने विश्वास जागेको छ। सिरहाका फेकोफन सचिव रुद्र नारायण चौधरीका अनुसार यस्ता जैविक तटबन्धले बाढी–पहिरो जोखिम घटाउने मात्र होइन, वातावरण संरक्षण, स्थानीय रोजगार र पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box