विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाइयो

काठमाडौं, १२ मंसिर – तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय कार्यान्वयनमा आएको छ।

भण्डारीले ८ चैत २०८१ मा मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रूपैयाँबाट बढाएर ९ हजार ५ सय रूपैयाँ पुर्‍याएका थिए। मन्त्रालयका अनुसार ३४ प्रकारका स्वास्थ्य परीक्षण समेटेर सेवा गुणस्तर बढाउने उद्देश्यले नयाँ शुल्क संरचना निर्धारण गरिएको हो।

नेपाल सरकारले स्वास्थ्य परीक्षणसम्बन्धी तोकेको दरलाई आधार मानेर वैदेशिक रोजगारीमा जाने कामदारलाई सहुलियत हुने गरी नयाँ प्याकेज शुल्क तय गरिएको मन्त्रालयले जनाएको छ।

उक्त निर्णय आठ महिनापछि, १० मंसिर २०८२ देखि लागू भएको हो। शुल्क लागू भएसँगै स्वास्थ्य व्यवसायीहरूले बुधबारदेखि नयाँ दरमा स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न थालेका छन्।

नयाँ शुल्क कार्यान्वयनका लागि स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले आफ्ना सदस्य संस्थाहरूलाई परिपत्र जारी गरेका छन्।

Facebook Comments Box