हङकङमा भीषण आगलागी : एक अग्निनियन्त्रकसहित १३ जनाको मृत्यु, १५ गम्भीर घाइते

काठमाडौँ, १० मङ्सिर – बुधबार हङकङको ताईपोस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये एकजना अग्निनियन्त्रक रहेको स्थानीय अधिकारीहरूले जनाएको छ। आगलागीमा परेर कम्तीमा १५ जना गम्भीर घाइते भएका छन्।

वाङ फुक कोर्टको सात वटा ब्लकमा आगो फैलिँदा धेरै मानिस भवनभित्रै फसेको आशंका गरिएको छ। उद्धारमा कठिनाइ बढेपछि मानवीय क्षति ठूलो भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

स्टेटको आठ ब्लकमध्ये सात ब्लकको स्काफोल्डिङमा आगो द्रुत गतिमा फैलिएको र नियन्त्रणमा ल्याउन कठिन भएको प्रहरीले बताएको छ।सुरुमा नम्बर १ अलार्म फायर का रूपमा वर्गीकृत गरिएको आगलागी केही मिनेटमै उक्लँदै दिउँसो ३:३४ बजे नम्बर ४, र त्यसपछि साँझ ६:२२ बजे सर्वाधिक गम्भीर मानिने नम्बर ५ मा वर्गीकृत गरिएको थियो। हङकङमा आगलागीलाई एकदेखि पाँचसम्मका तहमा वर्गीकृत गरिन्छ, जहाँ ठूलो संख्या बढी जोखिम र गम्भीरतालाई जनाउँछ।

Facebook Comments Box