रन्जित कुमारको पाँच विकेटमा चितवन राइनोजको शानदार जित
काठमाडौं, १० मंसिर – बायाँहाते स्पिनर रन्जित कुमारले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट झारेपछि चितवन राइनोजले अपराजित विराटनगर किंग्सलाई ४८ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ। बुधबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले विराटनगरको विजयी यात्रामा ब्रेक लगाएको हो।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगर १६.५ ओभरमै १२६ रनमा अलआउट भयो। लोअर अर्डरका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिसीले ३० रन बनाए पनि टोलीलाई जोगाउन सकेनन। दुवैले नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए। साम हिजलेटले २२ रन जोडे भने अन्य ८ खेलाडी दोहोरो अंकमा रन जोड्न सकेनन्।
चितवनका रन्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए र यस सिजन एक खेलमै पाँच विकेट लिने पहिलो बलर बने। कमल सिंह ऐरीले २ विकेट लिए भने सोहेल तनविर, सैफ जैब र कप्तान कुशल मल्लले एक–एक विकेट दर्ता गरे।
यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनकाे याेगफल तयार पारेको थियो। रवि बोपाराले ३८ बलमा ६५ रनको शानदार पारी खेले जसमा ३ चौका र ४ छक्का समावेश थियो। सैफ जैबले ३२, देव खनालले २८ तथा कप्तान कुशल मल्लले अविजित २० रन जोडे। बोपारा र मल्लले छैटौँ विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गरे।
विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने शुभम रन्जानले एक विकेट झारे। लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको विराटनगरको यो पहिलो हार हो। चार खेलबाट विराटनगरले ६ अंक जोडेको छ भने चितवनले दोस्रो जितसँगै ३ खेलबाट ४ अंक बटुलेको छ।

