प्रतिनिधिसभा निर्वाचनका लिएर ६४ राजनीतिक दल दर्ता

काठमाडौँ, ९ मङ्सिर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६४ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार सोमबार मात्रै आठ वटा दलले दर्ता प्रक्रिया पूरा गरेका हुन्। आइतबारसम्म दर्ता दलको संख्या ५६ रहेकोमा सोमबार थपिएसँगै कुल संख्या ६४ पुगेको हो।

आयोगले मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन इच्छुक दललाई दर्ताका लागि समय तोकेको छ। यसअघि मङ्सिर १ गते १२, मङ्सिर २ गते ५, मङ्सिर ३ गते ८, मङ्सिर ४ र ५ गते ८ तथा ७ गते १६ दलले दर्ता गराएका थिए।

सोमबार दर्ता भएका दलमा नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी र जनादेश पार्टी रहेका छन्। हाल आयोगमा कुल १३५ राजनीतिक दल दर्ता छन्। निर्वाचन प्रयोजनका लागि यी दलले बुधबारभित्र पुनः आवेदन दिनुपर्ने आयोगले स्पष्ट पारेको छ।

Facebook Comments Box