पौवादुङमाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान, ३० परिवारलाई राहत
भोजपुर, ८ मङ्सिर – पौवादुङमा गाउँपालिका–१ श्यामशिलास्थित चाँपे गाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि स्थानीयवासी वर्षौँदेखिको पानी अभावबाट मुक्त भएका छन्। गाउँपालिका र वडा कार्यालयको पहलमा ३० घरधुरीमा घरघरमै धारा जडान गरिएको हो।
वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार चाँपे गाउँमा पिउने पानीको अभाव गम्भीर बन्दै गएका कारण लक्षित रूपमा पानी वितरण सुरु गरिएको हो। “यहाँका सबै घरमा शुद्ध पिउने पानी पुगेको छ। स्थानीयको दीर्घकालीन पानी समस्या अन्त्य भएको छ,” वडाध्यक्ष तामाङले बताउनुभयो।
गाउँपालिकाले रु ४ लाख ५० हजार बजेट विनियोजन गरेर चाँपे गाउँका परिवारलाई धारा जडान तथा पानी वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले अन्य वडामा पनि ‘एक घर, एक धारा’ लक्ष्यसहित खानेपानी योजना विस्तार गरिरहेको छ।
धारा जडान भएपछि स्थानीयवासी निकै खुशियाली भएका छन्। वर्षौँदेखि टाढाबाट बोकेर पानी ल्याउँदै आएका तारा तामाङ भन्छन्, “घरमा धारा जडान भएपछि अब घण्टौँ समय खर्चेर पानी जोहो गर्नुपर्दैन। धेरै सहज भएको छ।” अर्की स्थानीयवासी सङ्गीता राईका अनुसार घरको आँगनमा धारा जडान भएपछि सरसफाइमा सुधार भएको छ र बगने पानीलाई करेसाबारीमा उपयोग गर्न थालेका छन्।
“पहिले डोको बोकेर टाढाबाट पानी ल्याउनुपर्दा धेरै कठिनाइ हुन्थ्यो। अहिले दैनिक कामकाज सहज छ,” उहाँले बताउनुभयो। ‘एक घर, एक धारा’ अभियानका कारण गाउँमा पानी अभावको समस्या उल्लेख्य रूपमा समाधान भएको स्थानीयवासीहरू बताउँछन्।

