निर्वाचन प्रयोजनका लागि दलहरूले आयोगमा निवेदन बुझाउने क्रम जारी

काठमाडौँ, ७ मङ्सिर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा माघ ११ गते तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा निवेदन बुझाउने प्रक्रिया निरन्तर जारी छ।

आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार मङ्सिर १ गतेदेखि सुरु भएको निवेदन दर्ता प्रक्रिया मङ्सिर १० गतेसम्म चल्नेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ राजनीतिक दलले तथा राष्ट्रियसभा निर्वाचनका लागि ९ दलले निवेदन बुझाइसकेका छन्।

आयोगले आगामी निर्वाचनका लागि तयार पारेको आचारसंहिताको प्रारम्भिक मस्यौदा सुझाव संकलनका लागि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। आजसम्म सुझाव दिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

प्राप्त सुझाव समेटेर आयोगले माघ १–२ गते आचारसंहिता जारी गर्ने तयारी छ।यस्तै, निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापन लगायतका तयारी तथा खरिद प्रक्रिया पनि सञ्चालनमा रहेको प्रवक्ता भट्टराईले बताए।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका उम्मेदवार मनोनयन माघ ६ गते तोकिएको छ। त्यसैगरी, फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते मतदान हुने कार्यक्रम छ।

राष्ट्रियसभाको एक सदस्य भने राष्ट्रपतिबाट मनोनयन हुनेछ। उक्त निर्वाचनका लागि उम्मेदवार मनोनयन पुस २३ गते हुने आयोगको कार्ययोजना रहेको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पुराना तथा हालै दर्ता भएका सबै दलले छुट्टै निवेदन अनिवार्यरूपमा बुझाउनुपर्नेछ। निर्वाचन आयोगका अनुसार मङ्सिर ५ गते मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पूरा भइसकेको छ।

Facebook Comments Box